काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४–४ रूपैयाँ र पेट्रोलको मूल्य लिटरमा ६ रूपैयाँले घटेको हो । यस्तै, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १० रूपैयाँ मूल्य घटेको छ ।

योसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको घोषणा गरेको छ । निगमका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीका अनुसार निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २।५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । 

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यका आधारमा मूल्य समायोजन हुने गरेको छ । निगमका अनुसार अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रूपैयाँ पर्नेछ । तराईका जिल्लाहरूमा १६१ रूपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रूपैयाँ पर्नेछ । डिजेल र मट्टीतेल उपत्यकामा लिटरको १४६ रूपैयाँ, तराईका जिल्लाहरूमा १४३ रूपैयाँ ५० पैसा र भित्री मधेशमा १४५ रूपैयाँ पर्नेछ ।

एलपी ग्याँस (खाना पकाउने ग्याँस)को प्रतिसिलिण्डर मूल्य १८०० रूपैयाँबाट घटेर १७९० रूपैयाँ कायम भएको छ ।

हवाई इन्धनको मूल्य भने स्वचालित हुने छैन । यो निगम सञ्चालक समितिले तोकेअनुसार हुनेछ । 

अन्तर्राष्ट्रिय बजार मूल्यका कारण निगमलाई पर्नसक्ने क्षति रोक्न भन्दै २०७१ सालमा तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापाले ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेका थिए ।

तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४७ प्रतिशतले घटेपछि पनि नेपाल आयल निगमले तेलको उपभोक्ता मूल्य घटाएन । बरु उच्च नाफा कमायो भने मूल्य स्थिरीकरण कोषमा रकम हालेको भनी त्यो पैसा पनि आफैंले राखेको थियो ।