काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा १९ जना बेपत्ता भएका छन् । ६ जना यात्रुको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० यात्रु थिए । सो डुंगा राति डुबेको थियो । तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बेपत्ता यात्रुको खोजी गरिरहेको छ । खोज तथा उद्धार एजेन्सीको स्थानीय शाखाका मुहम्मद अराफाले भने, ‘सबै पीडितहरूको पहिचान भइसकेको छ र शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको छ, बाँचेकाहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।’
डुङ्गाले मानिसहरूलाई खाडी पार गरी दक्षिणपूर्वी सुलावेसी प्रान्तको राजधानी केन्द्रबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको मुना टापुमा पुर्याएको थियो। त्यही क्रममा घटना भएको बताइएको छ ।

















