भरतपुरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछानेको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सभापतिमा लामिछानेले मात्र मनोनयन पत्र दर्ता गरेकाले उनी निर्विरोध निर्वाचित भएको बताएका हुन् । लामिछानेको मनोनयनपत्रमा बालेन शाह प्रस्तावक रहेका छन् ।
मनोयन दर्तापछि दुवैले निर्वाचन आयोग सचिवालयबाहिर आएर कार्यकर्तामाझ हात हल्लाएका थिए ।
संशोधित निर्वाचन कार्यतालिका अनुसार केन्द्रीय सदस्यहरूको उम्मेद्वारी दर्ता, दाबी–विरोध र अन्तिम नामावली प्रकाशनको काम आज रातभरिमा सकिने भएको छ ।
संशोधित तालिका अनुसार पार्टी केन्द्रीय सदस्य पदका लागि साँझ साढे सात बजेदेखि साढे ९ बजेसम्म महाधिवेशन स्थलमा रहेको निर्वाचन आयोगको सचिवालयबाट फारम वितरण तथा दर्ता भएको थियो ।
उम्मेद्वारी दर्ता सकिएलगत्तै उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशन र उम्मेद्वारहरू विरूद्ध दाबी–विरोध गर्ने समय दिइएको छ ।
ती दाबी विरोधमाथि राति ११ बजेसम्म जाँचबुझ गरिने र उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति सवा ११ बजेसम्मको अन्तिम समय सीमा तोकिएको छ ।
राति पौने १२ बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै सोही समयदेखि मौन अवधि सुरू हुने निर्वाचन आयोगले जनाएको छ ।
भोलि असार १० गते बिहानदेखि पहिलो चरणको मतदान शुरु हुने र पहिलो चरणको मतदान सम्पन्न भएको दुई घन्टापछि मतगणना शुरू गरी परिणाम घोषणा गरिने जनाइएको छ ।

















