काठमाडौं । सय किलो सुनकाण्ड भनेर प्रख्यात भएको सुन गालेर जोखेर हेर्दा ६० किलो ७ सय ८९ ग्राम मात्र पाइएको छ ।मोटरसाइकलको ‘ब्रेक सु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगालेर जोख्दा ६० किलो ६ सय ८९ ग्राम फेला परेको हो ।
गत ३ साउनमा विमानस्थलबाट जाँच पास भए पनि बरामद भएको सुन करिब १०० किलो रहेको राजस्व अनुसन्धान विभागले अनुमान गरेको थियो । ब्रेक सुमा समिश्रण गरेर ल्याइएको सो सुन अझै पनि शुद्ध गर्दै गाल्न बाँकी रहेकाले अझै तौल केही घट्ने अनुमान गरिएको छ ।
६० किलो सुन पनि ब्रेक सु प्याडबाट निकालिएको ढिका सुन मात्र भएको र अझै गाल्न बाँकी नै रहेकाले घट्न सक्ने अनुमान गरिएको हो ।
हङकङबाट क्याथे प्यासिफिक विमानबाट असार ३० मा ल्याएको सुन साउन ३ गते बुधबार भन्सार विभागबाट जाँचपास बाहिर गइसकेपछि राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो ।
सुन प्रकरणमा १८ जना पक्राउ परे पनि धेरैजसो सुन ओसारपसारमा संलग्न मात्रै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन जोख्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेपछि सोमबारबाट गाल्न थालिएको हो ।

















