- भोजराज घिमिरे
विराटनगर- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता केदार कार्कीले प्रदेश सरकारले बालबालिकाको नि:शुल्क उपचार योजना कटौती गरेको विरोधमा मंगलबारदेखि विराटनगरमा अनसन सुरू गरेका छन्। कार्कीले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले १० वर्ष मुनिका बालबालिकाका लागि ल्याइएको नि:शुल्क उपचार योजना कटौती गरेको भन्दै यसको विरोधमा प्रदेशसभा नजिकै अनसन थालेका हुन्।
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा क्षेत्र वरपर निषेधाज्ञा जारी गरेको भए पनि कार्कीले आफ्ना समर्थकहरूसहित सो क्षेत्रमा अनसन सुरू गरेका छन्। उनले योजना पुनः लागू नभएसम्म अनसन जारी राख्ने चेतावनी दिएका छन्।
पूर्वमुख्यमन्त्री कार्कीले आइतबार मुख्यमन्त्रीलाई ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र योजना कटौती फिर्ता लिन माग गरेका थिए। तर, उक्त समयावधि सकिए पनि कुनै पहल नभएको भन्दै उनले अनशनको निर्णय लिएका हुन्।
"प्रदेशका बालबालिकाको नि:शुल्क उपचार योजना कटौती गरेर मुख्यमन्त्रीले जनविरोधी कदम उठाउनुभएको छ। यो कदमले आम जनताको स्वास्थ्य र जीवनमा ठूलो असर पुर्याउनेछ," कार्कीले अनसन सुरू गर्दै भने। उनले जनताको स्वास्थ्यमा राजनीति हुन नहुने भन्दै आफू मर्न तयार रहेको तर बालबालिकाको उपचार सुविधा कटौती हुन नदिने दृढता व्यक्त गरे।
मुख्यमन्त्री हिक्मत कार्कीले यस विषयमा कांग्रेससँग छलफल गरे पनि केदार कार्कीसँग प्रत्यक्ष संवाद नगरेको जानकारी कार्कीको सचिवालयले दिएको छ।


















