भोजराज घिमिरे - विराटनगर,
पूर्वमुख्यमन्त्री केदार कार्कीले १० वर्षमुनिका बालबालिकाको लागि निशुल्क विशिष्टीकृत उपचार सेवा उपलब्ध गराउनुपर्ने माग राख्दै सुरु गरेको आमरण अनशनमा मंगलबार प्रहरीले बल प्रयोग गर्दै उनलाई पक्राउ गरेको छ। राति ८ बजे कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीमा पुर्याएको भए पनि उनले गाडीबाट उत्रिन अस्वीकार गरेका छन्।
कार्कीका प्रेस सल्लाहकार देवनारायण साहका अनुसार, कार्कीलाई जबरजस्ती छाडिए पुनः अनशन स्थलमै फर्कने चेतावनी दिएका छन्। प्रहरी कार्कीलाई आफन्तको जिम्मा लगाउने प्रयास गरिरहेको छ।
कार्कीको अनशनस्थलमा प्रहरीले बल प्रयोग गर्दा केही समर्थक सामान्य घाइते भएका छन् भने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालामाथि पनि लाठी चार्ज भएको छ। प्रहरीले अनशनस्थलबाट १५ जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा राखेको जनाएको छ।


















