भोजराज घिमिरे -विराटनगर,
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफ्ना विभिन्न मागहरू पूरा गर्ने आश्वासन पाएपछि बुधबार राति आमरण अनशन तोडेका छन्। कार्कीले विराटनगर–६ निवासी निर्मला शर्माको ४२ दिनका छोराको हातबाट जुस ग्रहण गरी अनशन तोडेका हुन्।
उनको अनशन अन्त्यका लागि नेपाली काँग्रेसका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, र अन्य नेताहरूको पहल महत्त्वपूर्ण रह्यो। उनीहरूको मध्यस्थतामा प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले पूर्व मुख्यमन्त्रीका मागहरू बजेटले सम्बोधन गरेको आश्वासन दिएपछि कार्कीले अनशन अन्त्य गरेका हुन्।
कार्कीले प्रदेश सरकारको बजेटमा गरिएका केही व्यवस्थाहरूको विरोधमा ६ दिनदेखि अनशनमा बसेका थिए। उनले बालबालिकाको निःशुल्क उपचार, जेहेन्दार गरिब विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता, र सुकुम्बासीलाई जग्गा खरिदमा दिइने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्थामा कटौती गरिएको विरोधमा अनशन सुरु गरेका थिए।
कार्कीको अनशनको क्रममा दिनभर चलेको छलफलमा प्रदेश सरकारका मन्त्रीहरू राम राना र लिलाबल्लव अधिकारीले केही मागहरू सम्बोधन भइसकेको र अरू मागहरू पनि समधान गरिने बताउँदै आश्वासन दिएका थिए। काँग्रेस नेता थापाले पनि यदि माग पूरा नभए काँग्रेसले सत्ता साझेदारको रूपमा जिम्मेवारी लिने वाचा गरेका थिए।
अनशनपछि कार्कीले प्रदेश सरकारलाई जनताका सेवाका कार्यक्रमहरू कटौती नगर्न चेतावनी दिएका छन्।


















