मोरङ, भदौ २९ - मोरङको ग्रामथान गाउँपालिकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर पूर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीका अनुसार ग्रामथान ४ कटहरास्थित जुवा अखडाबाट १८ लाख ५१ हजार ५ सय रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार पक्राउ परेका माझी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। गोप्य सूचनाका आधारमा शनिबार राति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीले संयुक्त रूपमा छापा हानेको थियो। पक्राउ पर्नेहरूमा सुनसरी, झापा, मोरङ लगायतका व्यक्तिहरू रहेका छन्।

प्रहरीले जुवाको अखडाबाट १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने बाकस, झोला, र १५ वटा मोबाइलसमेत बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको र थप म्यादका लागि मोरङ अदालतमा पेश गरिने तयारी गरिएको छ।

प्रहरीका अनुसार ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र केही वर्षदेखि जुवा खेल्ने अखडा नियमित रूपमा सञ्चालन हुँदै आएको थियो। यस क्षेत्रमा चाडपर्व नजिकिएसँगै जुवाजन्य गतिविधि बढ्ने भएकाले प्रहरीले निगरानी कडा पारेको थियो।

अखडा 'बाह्रमासे' जुवा खालका रूपमा परिचित रहेको र यसलाई लामो समयदेखि नियन्त्रणमा लिने प्रयास भइरहे पनि सफल हुन नसकेको प्रहरी प्रमुख कार्कीले जानकारी दिए।