- भोजराज घिमिरे -

मोरङ, विराटनगर – मोरङको कटहरी गाउँपालिका-१ स्थित कृषि तथा फलफूल थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पो शनिबार समापन भएको छ। एक्स्पोमा एक लाखभन्दा बढी सर्वसाधारण, कृषक, कृषि विद्यार्थी तथा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश समितिको आयोजनामा सम्पन्न एक्स्पोमा प्रदेशभरिका ८ सय कृषक तथा विद्यार्थीलाई नि:शुल्क खाना र ३ सय जनालाई नि:शुल्क आवासको व्यवस्था गरिएको थियो। एक्स्पोमा १३० स्टल राखिएका थिए, जसमा नेपाल र भारतका कृषि उत्पादक र प्रदर्शकहरूले कृषि सम्बन्धी उपकरण, प्रविधि, मल, बीउ र पशुपालनका सामग्री प्रदर्शन गरेका थिए।

समापन कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानामगरसहित विभिन्न विज्ञ र विशेषज्ञहरूले कृषि प्रविधि, कृषि यान्त्रिकीकरण, जैविक मल र विषादीको उत्पादन र प्रयोगबारे प्यानल छलफल गरे। छलफलमा भारतीय विज्ञ डा. कञ्चन भौमिक, कृसेन्दु सिन्हा, र डा. सुभाषिश बलले एजोला तथा ब्लुग्रीन एल्गीको उत्पादन र प्रयोगबारे जानकारी गराएका थिए।

एक्स्पोको दौरानमा पूर्वाञ्चल विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयले कृषि सम्बन्धी परामर्श कार्यक्रम पनि सञ्चालन गरेका थिए। उद्योग, कृषि तथा सहकारी मन्त्री प्रतापसिंह हाङ्गामले समापन समारोहलाई सम्बोधन गर्दै किसानलाई आधुनिक कृषि यन्त्र, उपकरण तथा उन्नत मल बीउको प्रयोगबारे जानकारी दिन एक्स्पो महत्त्वपूर्ण रहेको बताए। मन्त्री हाङ्गामले प्रदेश सरकारले आगामी दिनमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै किसानको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले एक्स्पोले आफ्नो उद्देश्य सफलतापूर्वक हासिल गरेको बताए। आयोजकहरूले आगामी वर्षमा थप व्यापक बनाउने गरी एक्स्पोको आयोजना गर्ने योजना रहेको जनाएका छन्।