बिराटनगर, असोज १ - भोजराज घिमिरे
कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (प्र.ना.म.नि.) चन्द्रकुवेर खापुङले नजिकिदै गरेका चाडपर्वलाई लक्षित गर्दै शान्ति सुरक्षा सुनिश्चित गर्न विशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गर्ने निर्देशन दिएका छन्। असोज १ गते, भर्चुअल माध्यमबाट आयोजित बैठकमा उनले जिल्ला प्रहरी प्रमुखहरूलाई कुनै पनि आपराधिक गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पार्न आदेश दिएका हुन्।
प्र.ना.म.नि. खापुङले चाडपर्वका बेला समाजमा शान्ति सुरक्षा कायम राख्न, अवान्छित गतिविधि, जुवा तास, कालोबजारी, खुला सिमानाका कारण हुने चोरी तस्करी, लागू औषधको ओसारपसार तथा पटका जस्ता गैरकानूनी क्रियाकलापलाई नियन्त्रण गर्न निर्देशन दिए। साथै, यात्रुहरूको सहजताका लागि यात्रु सहायता कक्षको स्थापना गरी ट्राफिक व्यवस्थापनलाई सुदृढ पार्नुपर्नेमा जोड दिए।
उनले आम नागरिकलाई प्रहरी सेवा प्रभावकारी रूपमा प्रदान गर्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्न, पेण्डिङ मुद्दाहरूको फलोअप गर्न र फरार अपराधीहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिए।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।


















