विराटनगर – मनसुन सकिएसँगै देशभरको तापक्रममा क्रमिक गिरावट देखिन थालेको छ। काठमाडौं उपत्यकामा बिहान र बेलुका चिसो महसुस हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसको बीच रहने अनुमान गरिएको छ।
विभागले दिएको जानकारी अनुसार, बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस थियो। यस्तै, अन्य जिल्लाहरूमा पनि तापक्रम घट्दो क्रममा रहेको छ। विराटनगरमा न्यूनतम तापक्रम २२.५ डिग्री, धरानमा २० डिग्री, जनकपुरमा २२.४ डिग्री, नेपालगन्जमा २२.६ डिग्री र धनगढीमा २१.५ डिग्री सेल्सियस मापन भएको छ।
जोमसोममा भने शुक्रबारको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस र जुम्लामा १०.१ डिग्री सेल्सियस रहेको छ। यस्तै, डडेलधुरामा १३.३ डिग्री, पोखरामा १७.९ डिग्री, घोराहीमा १९.४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ।
अधिकतम तापक्रम पनि क्रमशः घट्दै गएको छ। बिहीबार धनगढी र नेपालगन्जमा अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस मापन भएको थियो भने जनकपुरमा ३४ डिग्री सेल्सियस पुगेको थियो।
देशभरि नै तापक्रम घट्दै गएको हुँदा मौसम परिवर्तनसँगै चिसोबाट बच्न विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


















