विराटनगर – कोशी प्रदेशमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत ४४ जनाको उद्धार गरिएको छ। मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा ३५ पुरुष र ९ महिलाको उद्धार गरिएको हो।
उद्धारका क्रममा बिहीबार उदयपुरका विभिन्न स्थानबाट १६ जनाको उद्धार गरिएपछि आठ पुरुष र आठ महिलालाई मानव सेवा आश्रमको विराटनगर शाखामा लगिएको छ।
यस उद्धार यात्राको उद्देश्य चाडपर्वका अवसरमा सडकपेटीमा बस्नुपर्ने अवस्था नआउने भन्ने नाराका साथ गरिएको हो।
असोज २८ गतेदेखि सुरु भएको उद्धार यात्रामा पहिलो दिन झापाबाट १२ जना, दोस्रो दिन मोरङबाट ४ जना र तेस्रो दिन सुनसरीबाट १२ जनाको उद्धार गरिएको थियो।
उद्धार यात्रामा गायिका आनी छोइङ डोल्मा र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जनाको सहभागिता रहेको छ। यो उद्धार यात्रा ३२ दिनको अवधिमा चल्नेछ र कात्तिक २६ गते समाप्त हुनेछ।
उद्धार अभियानले चाडपर्वको समयमा कुनै पनि व्यक्तिलाई सडकमा बस्न नपरोस भन्ने उद्देश्यले समुदायमा सकारात्मक सन्देश फैलाएको छ।


















