सुनसरी – १६ वर्षीया किशोरीलाई जबरजस्ती चिनियाँ नागरिकसँग विवाह गराउने प्रयासमा संलग्न आठ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा किशोरीका बाबुसहित चिनियाँ नागरिक ली टेङ् र अन्य स्थानीय व्यक्तिहरू रहेका छन्।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, धनकुटाको छथर जोरपाटी–२ की किशोरीलाई ३३ वर्षीय चिनियाँ नागरिक ली टेङ्सँग विवाह गराउन खोजिएको थियो। प्रहरीको टोलीले सुनसरीको चतराबाट ती व्यक्तिहरूलाई पक्राउ गरेको हो।
प्रहरीले दिएको जानकारी अनुसार, पक्राउ परेकाहरूमा किशोरीका बाबु, उदयपुरका दिपक दर्जी, बद्री विक्रम राई, सितल गुरुङ, रोशनीमाया तामाङ, र अन्य दुई चिनियाँ नागरिक डोङ शिहाओ र वु हेजी पनि समावेश छन्।नेपालको कानूनी प्रावधानअनुसार, विवाह गर्न महिला र पुरुषको उमेर कम्तीमा २० वर्ष हुनुपर्नेछ। मुलुकी अपराध (संहिता) ऐन २०७४ ले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न वा गराउन रोक लगाएको छ। यस उल्लंघनमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले यो घटना शंकास्पद रहेको र विवाहको प्रयास व्यापार व्यवसायसँग सम्बन्धित हुन सक्ने प्रारम्भिक अनुमान गरेको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ, र जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कानूनी प्रक्रिया अघि बढाइएको छ।


















