-भोजराज घिमिरे
विराटनगर, कात्तिक १० – कोशी प्रदेश सरकारले पहाडी क्षेत्रमा पक्की पुलको छेउछाउमा रहेका प्रयोगविहीन झोलुंगे पुललाई अन्यत्र सार्ने तयारी थालेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पक्की पुल बनेपछि प्रयोगविहीन अवस्थामा रहेका यस्ता झोलुंगे पुललाई आवश्यकता अनुसार अन्यत्र सार्ने निर्णय गरेको हो।
भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार, पहिले यातायातका लागि झोलुंगे पुल निर्माण गरिए पनि पछि सडक विस्तार र पक्की पुल निर्माण भएपछि ती झोलुंगे पुलको प्रयोग घटेको छ। "पहाडी क्षेत्रका धेरै ठाउँमा पक्की पुलकै छेउमा झोलुंगे पुल छन्, तर ती पुलहरू अब प्रयोगविहीन छन्। पहिलो चरणमा तथ्यांक संकलन गरेर आवश्यकता अनुसार यस्ता पुल सारिनेछ," मन्त्री राईले भने।
स्थानान्तरणको प्रक्रिया सुरु गर्न मन्त्रालयले हालको अवस्थामा रहेका प्रयोगविहीन पुलहरूको विवरण संकलन गर्न थालेको छ। साथै, स्थानान्तरण प्रक्रिया स्थानीय सरकारसँगको सहकार्यमा गरिने बताइएको छ। पुलहरूको उचित स्थानान्तरणले ग्रामीण क्षेत्रमा यातायातमा सुधार ल्याउन सकिने अपेक्षा गरिएको छ।


















