उर्लाबारी – उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलमाथि सोमबार अपरान्ह नगरपालिकाको परिसरमै आक्रमण भएको छ। कार्यपालिका बैठक सकेर बाहिर निस्कदै गर्दा उर्लाबारी नगरपालिका-७ निवासी ४८ वर्षीय मिलन भण्डारीले मेयर खरेलको अनुहारमा मुक्का प्रहार गरेका हुन्।
मेयरको सचिवालयका अनुसार, भण्डारीले योग शिविर सञ्चालन गर्न आर्थिक सहयोग मागेका थिए। तर मेयर खरेलले तत्काल सम्भव नभएको र प्रक्रिया पूरा भएपछि सहयोग गर्ने आश्वासन दिएका थिए। उक्त प्रतिक्रिया पछि असन्तुष्ट बनेका भण्डारीले मेयरमाथि आक्रमण गरेको बताइएको छ।
प्रहरीले भण्डारीलाई अभद्र व्यवहारको आरोपमा हिरासतमा राखेको छ। भण्डारी, जो उर्लाबारी–७ का पुराना व्यवसायी र हाल थेरापी सेवा सञ्चालन गर्दै आएका छन्, घटनास्थलमै प्रहरीद्वारा नियन्त्रणमा लिइएका हुन्।
मेयर खरेलको स्वास्थ्य अवस्था सामान्य रहेको र थप कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


















