इटहरी - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिका अनुसार यस वर्ष कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको शुभ साइत रहेको छ। भाइटीकाका लागि पश्चिम मोहडा राख्न समितिले सल्लाह दिएको छ।

यस वर्षको तिहार पर्व अर्थात् यमपञ्चक कात्तिक १३ गते मंगलबार धनतेरस (धन त्रयोदशी) का दिनदेखि सुरु हुँदैछ। कात्तिक १४ गते बुधबार यमदीपदान र कागतिहार, साथै आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती पनि मनाइनेछ।

कात्तिक १५ गते बिहीबार कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा एकै दिन मनाइने भएको छ। त्यस्तै, कात्तिक १६ गते शुक्रबार औंशी परे पनि कुनै विशेष तिहार पर्व भने परेको छैन।

कात्तिक १७ गते शनिबार गाईगोरू पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा, र नेपाल संवत् ११४५ को प्रारम्भ पनि रहेको समितिले जनाएको छ। यसैगरी, कात्तिक २२ गते बिहीबार छठ पर्व पनि मनाइने छ।

तिहार पर्वको विस्तृत तालिका

- कात्तिक १३: धनतेरस

- कात्तिक १४: यमदीपदान, कागतिहार, धन्वन्तरी जयन्ती

- कात्तिक १५: कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका, लक्ष्मीपूजा

- कात्तिक १६: औंशी

- कात्तिक १७: गाईगोरू पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा, नेपाल संवत् ११४५ प्रारम्भ

- कात्तिक १८: भाइटीका (साइत: बिहान ११:३७ बजे)

- कात्तिक २२: छठ पर्व