विराटनगर- बुढीगंगा गाउँपालिका-१ टंकीसिनवारीस्थित नरग्राम माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई सम्मान गर्ने प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन्। पूर्व विद्यार्थीहरूको तदर्थ समितिले विद्यालयका १२ जना अवकाशप्राप्त शिक्षक-शिक्षिका तथा दिवंगत शिक्षकहरूका परिवारजनलाई सम्मान गर्दै शिक्षाको महत्त्वलाई पुनः उजागर गरेको छ।
पूर्व विद्यार्थी समाज नरग्राम माध्यमिक विद्यालय तदर्थ समिति का संयोजक सुवोद कोइरालाको नेतृत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले सम्मान हस्तान्तरण गर्नुभएको थियो। डा. कोइरालाले नेपालमा यस्तो कार्य सम्भवत: पहिलो भएको बताउँदै शिक्षकहरूको योगदानले नै समाजमा प्रतिष्ठित व्यक्ति जन्मिएको उल्लेख गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले भने, "शिक्षकहरूको ज्ञान र मार्गदर्शनले नै धेरै विद्यार्थी आज चिकित्सक, इन्जिनियर, वकिल, न्यायाधीशजस्ता जिम्मेवार स्थानमा पुगेका छन्। शिक्षाको सम्मान गर्नु भनेको आफ्नो भविष्यप्रति सम्मान गर्नु हो।"
कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगर, उपाध्यक्ष अमृता कुमारी गच्छदार, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलिया, विद्यालयका प्रधानाध्यापक कैलाश केसीसहित काठमाडौंबाट आएका पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको झापा बाट आएकिपूर्व विद्यार्थी मिना बराल ले बताइन ।
समितिका संयोजक सुवोद कोइरालाले गुरुहरूको योगदानलाई सम्मान गर्ने यो कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमले नरग्राम माध्यमिक विद्यालयका पूर्व विद्यार्थी र गुरुहरूबीचको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै शिक्षा क्षेत्रको उज्ज्वल उदाहरण प्रस्तुत गरेको छ।


















