मोरङ -  सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले एक एसपीसहित १२ जना प्रहरी अधिकृतमाथि आन्तरिक छानबिन सुरु गरेको छ। उनीहरूलाई सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न असफल भएको भन्दै मुख्यालय तानेर बयान लिने प्रक्रिया सुरु गरिएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी कुमार न्यौपानेका अनुसार तस्करी नियन्त्रणमा गम्भीर कमजोरी देखिएको र प्रधानमन्त्री कार्यालय, हेलो सरकार, तथा गृह मन्त्रालयमा दर्ता भएका गुनासोका आधारमा उनीहरूलाई मुख्यालयमा तानेर सोधपुछ भइरहेको छ।

छानबिनको दायरामा तानिएका अधिकारीहरूमध्ये कपिलवस्तु कृष्णनगर बीओपीका प्रमुख डीएसपी शैलेन्द्र न्यौपाने, कपिलवस्तु चाकरचौडाका जयराम बस्नेत, बाराको मटिहर्वा बीओपीका विदुर भट्टराई, सिराहको नवराजपुर बीओपीका इन्स्पेक्टर रोशन थापा, सुनसरी अमडुवा बीओपीका प्रकाशविक्रम कार्की, र मोरङस्थित नोचा बीओपीका जयबहादुर दथेकु छन्।

यसैगरी, धनुषास्थित फूलगाभा बीओपीका गणेश बोहोरा र महोत्तरीका समसिओपी बीओपीका कृष्ण गुरुङलाई पनि मुख्यालयमा बोलाइएको छ।

प्रवक्ता न्यौपानेले गुनासोको सत्यता पत्ता लगाउन प्रमाण संकलन भइरहेको र दोषी प्रमाणित भए विभागीय कारबाही गरिने बताए। सशस्त्र प्रहरीको यो कदमले सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रणमा सुधारको अपेक्षा गरिएको छ।

तस्करी नियन्त्रणमा चनाखो बन्न निर्देशन

यस छानबिनसँगै सीमा क्षेत्रमा तैनाथ अन्य सुरक्षाकर्मीलाई आफ्नो जिम्मेवारीमा गम्भीर हुन निर्देशन दिइएको छ। सीमा क्षेत्रमा तस्करी नियन्त्रण सशक्त बनाउन थप उपायहरू अपनाउने तयारी पनि भइरहेको बताइएको छ।