सुदूरपश्चिम प्रदेश -  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशनपछि आफूले कांग्रेसलाई युग सुहाउँदो, बलियो र गतिशील पार्टी बनाउने दाबी गरेका छन्। नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एकता र सहकार्यलाई प्राथमिकता दिने बताएका छन् र यसका लागि आफू नेतृत्व लिन तयार रहेको स्पष्ट पारे।

उनले थपे, "अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ। पार्टीको एकता र सहकार्यको महत्त्वलाई जोड दिनु पर्दछ। यसका लागि म नेतृत्व लिन तयार छु।"

डा. कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ सालभित्रै सम्पन्न हुनुपर्नेमा जोड दिँदै भने, "पार्टीको विधान अनुसार महाधिवेशन समयमै हुनुपर्छ। यसमा कुनै किन्तु-परन्तु स्वीकार्य छैन।" उनका अनुसार, महाधिवेशनले पार्टीलाई नयाँ जीवन र कार्यदिशा दिनेछ, जसले नेपाली कांग्रेसलाई आगामी चुनौतीहरूको सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे।

यो भनाइले पार्टीभित्र आगामी महाधिवेशन र नेतृत्वको दौडलाई थप तिव्रता दिने देखिन्छ।