इटहरी ।जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको बेवसाइट mfd.gov.np ह्याक भएको एक साता हुँदा पनि बन्न सकेको छैन। गत आइतबार रातिदेखि ह्याक भएको मौसम महाशाखाको उक्त वेबसाइट आज (आइतबार) बिहान १० बजेसम्म सञ्चालन हुन सकेको छैन। हरेक बिहान-बेलुका मौसमबारे जानकारी दिने उक्त वेबसाइट ह्याक भएपछि मौसम महाशाखाले सूचना जारी गर्दै मौसमसम्बन्धी अपडेट अब नयाँ वेबसाइट dhm.gov.np बाट लिन अनुरोध गरेको थियो।
तर शनिबारदेखि नयाँ वेबसाइटमा पनि समस्या देखिएको छ। उक्त वेबसाइटमा तापक्रम विवरण अपडेट हुन छाडेको हो। यसमा केही प्राविधिक समस्या देखिएकाले तापक्रम विवरण अपडेट हुन नसकेको मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए।‘तापक्रम अपडेट नदेखाउने भएको छ, केही प्राविधिक समस्या देखिएको छ, मर्मत प्रयास भइरहेको छ’, उनले भने।
एक हप्तादेखि ह्याक वेबसाइट पनि पहिलेकै अवस्थामा फर्काउने कोसिस जारी रहेको उनको भनाइ छ। ‘आईटीका साथीहरू निरन्तर लागिरहनुभएको छ’, मौसमविद् लामिछानेले भने। तर एक/दुई दिनमै सञ्चालन हुने अवस्था भने नदेखिएको उनले बताए। कसले, किन ह्याक गरेको भन्ने केही जानकारी प्राप्त भयो त?
‘छैन, कसले किन ह्याक गर्यो थाहा हुन सकेको छैन, आईटीका साथीहरूलाई जानकारी भयो कि तर हामीलाई अहिलेसम्म यसबारे केही जानकारी दिनुभएको छैन’, मौसमविद् लामिछानेले भने। यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको जानकारी पनि उनले दिए।


















