सर्लाही । सर्लाहीको हरिवनमा एक व्यवसायीको हत्या गरी उखुबारीमा शव गाडिएको अवस्थामा फेला परेको छ । सर्लाहीको हरिवनमा हत्या गरी उखुबारीमा गाडिएको अवस्थामा इँटा व्यवसायीको शव बरामद भएको हो । हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
व्यवसायी प्रसाईं यही पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निक्लेको पारिवारिक स्रोतले जानकारी दिएको छ । अबेर रातिसम्म प्रसाईं घर नफिरेपछि प्रहरीमा खबर गरेका थिए । त्यस लगतै स्थानीय र प्रहरी निरन्तर प्रसाईंको खोजी गरिरहेका थिए ।
खोजी गर्ने क्रममा शनिबार घर नजिकैको उखुबारीमा हत्या गरेर गाडेको अवस्थामा प्रसाईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले प्रसाईंको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । तर युवकको नाम भने प्रहरीले गोप्य नै राखेको छ । मृतक प्रसाईंको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेर हरिवन ल्याइसकेका छन् ।


















