पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ पचगाँवामा बिहीबार बेलुकी प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ। पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय राजेश लोनिया रहेका छन्। प्रहरीको गोली लागेर लोनिया घाइते भएका छन्।

नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार लोनियाको घरमा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी टोली पुगेको थियो। लागुऔषध नियन्त्रण ब्युरो भैरहवा शाखाका प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरू प्रहरीमाथि जाइलागेको र पेस्तोल खोस्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाइएको डिएसपी बोहराले जानकारी दिए। प्रहरीले चार राउन्ड गोली चलाएकोमा एउटा गोली लोनियाको खुट्टामा लागेको छ। अर्का व्यक्ति भने फरार छन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरार व्यक्तिको खोजी कार्य जारी रहेको र लोनियालाई आवश्यक उपचारका लागि अस्पताल लगिएको बताइएको छ।