विराटनगर– उद्योग संगठन मोरङको आयोजनामा जारी विराट एक्स्पो २०२५ मा यसपटक माछाको एक्वेरियम प्रमुख आकर्षणको रूपमा थपिएको छ। भारतबाट आएका व्यवसायीहरूले सञ्चालनमा ल्याएको यो एक्वेरियममा विभिन्न जातका रंगीन तथा आकर्षक माछाहरूलाई अत्याधुनिक प्रविधिमा सजाएर प्रदर्शन गरिएको छ।

एक्वेरियम अवलोकन गर्नका लागि प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ। आयोजकका अनुसार, यो एक्वेरियम सर्वसाधारणका लागि नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।

बिहीबार साँझ उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष एवं एक्स्पो संयोजक भोलेश्वर दुलाल, उपाध्यक्ष राजकुमार गोल्छा, कार्यसमिति सदस्य राजन खत्री, दीपक अग्रवाल, सौरभ सारडा लगायतले टिकट काटेर एक्वेरियम अवलोकन गरेका थिए।

अध्यक्ष सुरानाले एक्वेरियम जो कोहीका लागि हेर्न लायक रहेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार, यस प्रकारका नयाँ प्रविधि र मनोरञ्जनात्मक सामग्रीले एक्स्पोलाई थप आकर्षक बनाउने छन्।

माघ १२ गतेदेखि २० गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पस मैदान मा सञ्चालन भइरहेको एक्स्पोमा दैनिक हजारौं दर्शकहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीहरूको सहभागिता रहेको एक्स्पोमा औद्योगिक, व्यापारिक, कृषि, प्रविधि तथा मनोरञ्जनात्मक सामग्रीहरू प्रदर्शनीमा छन्।