मोरङ –"गरौँ योग, रहौँ निरोग" भन्ने नाराका साथ पतञ्जलि योग महानगर समिति बिराटनगर र महेन्द्रेश्वर शिवालय योग साधना केन्द्र, बिराटनगर वडा नं. १ को संयुक्त आयोजनामा २२औं सह-योग शिक्षक प्रशिक्षण तालिमको दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ।

समारोहमा पतञ्जलि योग पीठ नेपालकी आजीवन सदस्य तथा महानगर समिति बिराटनगरकी अध्यक्ष शिल्पा प्याकुरेलको सभापतित्व रहेको थियो। प्रमुख अतिथि बिराटनगर महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष काजी बहादुर बस्नेत रहनुभएको थियो भने कार्यक्रमको सहजीकरण महामन्त्री प्रलाद प्रसाद दङाल ले गर्नुभएको थियो।

३४ जना नयाँ योग शिक्षक तयार

२२ दिनसम्म चलेको प्रशिक्षण कार्यक्रमबाट ३४ जना नव-योग शिक्षक तयार भएका छन्। प्रशिक्षार्थीहरूलाई तालिमका सुत्रधार महानगर सदस्य माया भट्टराई ले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

समारोहको प्रारम्भमा प्रमुख अतिथि बस्नेतले दीप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको थियो। तीन चरणमा सम्पन्न कार्यक्रम अन्तर्गत पहिलो चरणमा पतञ्जलि योग समिति मोरङका कोषाध्यक्ष ओम प्रसाईले योग अभ्यास सत्र सञ्चालन गर्नुभएको थियो। दोस्रो चरणमा यज्ञ पूजाको आयोजना गरियो भने तेस्रो चरणमा समापन समारोह सम्पन्न भयो।

शुभकामना मन्तव्य र सम्मान

समारोहमा प्रमुख अतिथि काजी बहादुर बस्नेत, महिला पतञ्जलि मोरङ अध्यक्ष लक्ष्मी चौधरी, मोरङ कोषाध्यक्ष ओम प्रसाद प्रसाई, प्रशिक्षक प्रतिनिधि राजेन्द्र खनाल र महेन्द्रेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लिला प्रसाद काफ्ले ले नव-योग प्रशिक्षकहरूलाई शुभकामना मन्तव्य दिएका थिए।

सभापति प्याकुरेलको सम्बोधन

समारोहको अन्त्यमा सभापति शिल्पा प्याकुरेलले प्रशिक्षणलाई सफल बनाउने सम्पूर्ण प्रशिक्षक, प्रशिक्षार्थी तथा पतञ्जलि योग मोरङ परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, नव-योग शिक्षकहरूलाई योगको महत्व समुदायमा पु¥याउने लक्ष्य लिएर अघि बढ्न प्रेरित गर्दै दिक्षान्त समारोह समापन गर्नुभयो।