काठमाडौ– काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

चाबहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा विद्यार्थी, शिक्षक र अभिभावक सवार थिए।

प्रहरीका अनुसार नगरकोटमा बनभोज खाएर साँखुतर्फ फर्किंदै गरेको बस साँझ ४:५० बजे दुर्घटनामा परेको हो। दुर्घटनाका कारण बस सडकबाट खस्दा गम्भीर क्षति भएको छ।

घटनापछि स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य जारी छ। घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचारका लागि लगिएको छ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन्।