विराटनगर - बुढीगंगा गाउँपालिका-१ स्थित नरग्राम मावि ले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत प्राविधिक धार का विद्यार्थीहरूले मत्स्यपालन मार्फत आत्मनिर्भर उत्पादनमा महत्वपूर्ण सफलता हात पारेका छन्।

गाउँपालिकाको वडा नं. २, सखमाहा मा रहेको विद्यालयकै करिब १२ कठ्ठा जग्गामा पोखरी निर्माण गरी मत्स्यपालन कार्यक्रम सञ्चालन गरिएको हो। पहिलो चरणमा कार्प प्रजातिका माछा उत्पादन गरिएको विद्यालयका कृषि कार्यक्रम संयोजक आविष्कार पोखरेल ले जानकारी दिनुभयो।

५ महिनाको अवधिमा माछा करिब २५०० ग्रामसम्म तौल पुगेका छन्। उत्पादनको प्रारम्भिक नतिजा उत्साहजनक रहेको र आगामी वर्षदेखि कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइने विद्यालयका प्रधानाध्यापक कैलाश केसी ले बताउनुभयो।

विद्यालयले प्राविधिक शिक्षा लाई आर्थिक उत्पादनसँग जोडेर विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ। स्थानीय स्रोतको प्रयोग गरी व्यवसायिक मत्स्यपालन गर्दै शिक्षा र रोजगारीलाई एकसाथ अघि बढाउने यो कार्यक्रम उदाहरणीय रहेको सरोकारवालाहरू बताउँछन्।