मोरङ, फागुन ४ – कटहरी गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन (LISA) अन्तर्गत आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा ९६.५ प्रतिशत औसत स्कोर प्राप्त गर्दै मोरङ जिल्लामा पहिलो स्थान हासिल गरेको छ।
गाउँपालिकाले शासकीय प्रबन्धदेखि सेवा प्रवाहसम्मका विभिन्न सूचकहरूमा उच्च स्कोर प्राप्त गर्दै स्थानीय शासन, पारदर्शिता र समावेशी सेवा प्रवाहमा उत्कृष्टता प्रदर्शन गरेको छ। यस मूल्याङ्कनमा शासकीय प्रबन्धमा ९४.४४ प्रतिशत, संगठन तथा प्रशासनमा ९०.९१ प्रतिशत, वार्षिक बजेट तथा योजना व्यवस्थापन, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र सहकार्य तथा समन्वयमा १०० प्रतिशत अंक प्राप्त भएको छ।
कटहरी गाउँपालिकाका अध्यक्ष श्री देवराज चौधरी र प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमले यो सफलता सुशासन, पारदर्शिता र योजनाबद्ध विकासमा गरिएको निरन्तर प्रयासको परिणाम भएको बताएका छन्। अध्यक्ष श्री देवराज चौधरीले भने, "यो उपलब्धि हाम्रो टीमको संयुक्त प्रयास र नागरिकको साथको नतिजा हो। आगामी वर्षहरूमा स्थानीय सेवाको अझ प्रभावकारी कार्यान्वयन गर्दै नागरिकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाउँछौं।"
गाउँपालिकाले आगामी वर्षहरूमा पर्यावरणीय संरक्षण, विपद् व्यवस्थापन, डिजिटल सेवा प्रवाह र पूर्वाधार विकासमा अझ बढी ध्यान दिने योजना अघि सारेको छ। स्थानीय तहको उत्कृष्ट कार्य सम्पादनको यो नमुना अन्य पालिकाहरूका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरिएको छ।


















