इटहरी - जुत्ता चप्पल उत्पादक संघ नेपालको आयोजनामा इटहरीमा जुत्ता मेला हुन लागेको छ । बुधवार देखि इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा मेला हुने भएको हो ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र उत्पादनलाई उपभोक्ता समक्ष पुर्याएर बानी पार्ने उद्देश्यले मेला गर्न लागिएको आयोजकले जनाएको छ । विगतको अनुभवको आधारमा धेरै उपभोक्ताले मन पराएको कारण इटहरीमा पुनः मेला आयोजना गरिएको संघका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

मेलामा विभिन्न नेपाली कम्पनीका जुत्ता सस्तो मूल्यमा पाइने उपाध्यायको दाबी छ । उनका अनुसार बाहिर बजारमा भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल किन्न पाइन्छ ।
यसअघि पनि इटहरीमा भव्यताका साथ सम्पन्न मेला यसैबर्ष धरान, उर्लाबारी लगायत सहरमा सफल भइसकेको छ । बिहीबार औपचारिक रूपमा उद्घाटन गर्ने तयारी गरेको आयोजकले बुधवार देखि नै कारोबार गर्ने भएको छ ।


















