- निरू पौडेल

सुनसरी - इटहरी-९, सुनसरीमा रहेको दक्षिणकाली मन्दिरमा प्रेम कुमार गजमेरले २०५२ सालदेखि पुजारीको रूपमा सेवा गरिरहेका छन्। नेपाली समाजमा कतिपय मन्दिरमा दलित समुदायलाई प्रवेशमै रोक लाग्ने गरेको अवस्थामा, इटहरीको यस मन्दिरमा भने दलित पुजारीकै नेतृत्वमा धार्मिक गतिविधि सञ्चालन हुँदै आएको छ।

यसअघि मन्दिरका पुजारी भवानी प्रसाद घिमिरे थिए। मन्दिर पहिले राजाको मुकामभित्र रहेको थियो, जसका कारण सर्वसाधारणको पहुँच सीमित थियो। पछि राजपरिवारकै निर्णयअनुसार मन्दिरलाई ट्याङ्ग्रा खोलासँग जोडिएको सेरेबाँधमा सारिएको थियो। यही बेलामा पुजारी भवानी प्रसादले प्रेम कुमार गजमेरलाई मन्दिरको पुजारीको जिम्मेवारी सुम्पेका थिए। तबदेखि नै गजमेर निरन्तर रूपमा देवीको सेवा गरिरहेका छन्।

गजमेर भन्छन्, "अहिलेसम्म मलाई जातीय भेदभाव भएको अनुभव छैन। भक्तजनहरू आस्थाका साथ आउँछन्, पूजा गर्छन्, प्रसाद लिन्छन् र फर्कन्छन्।" शनिबार र मंगलबार मन्दिरमा विशेष भीड लाग्ने गरेको छ, भने अन्य दिनमा भक्तजनको सङ्ख्या कम रहने उनले बताए। भाकल अनुसार भक्तजनले बोका, कुखुरा, परेवा, सुन्दरी, फलफूल आदि चढाउने गर्छन्।

मन्दिर सानो छाप्रोमा स्थापना भए पनि अहिले पुनर्निर्माण भइसकेको छ। तर अझै व्यवस्थापन पक्षमा कमजोरी देखिएको छ। मन्दिरको घेराबारा, गेट र टायल जडान गर्ने आवश्यकता रहेको पुजारी गजमेर बताउँछन्। उनी भन्छन्, "म मात्र पुजा गर्छु, व्यवस्थापन समितिले अन्य निर्णय गर्छ। तर, मन्दिरको उचित संरक्षण हुन आवश्यक छ।"

मन्दिर स्थापना भएको २९ वर्ष बितिसक्दा पनि पुजारी गजमेरले कुनै पारिश्रमिक नलिएको बताउँछन्। "म आफ्नो खाएर देवीको सेवा गरिरहेको छु। तर, यदि पारिश्रमिक पाएको भए जीवन सहज हुन सक्थ्यो," उनले भने।

इटहरीको यो मन्दिर काठमाण्डौ बाहिरको एक मात्र दक्षिणकाली मन्दिर भए पनि प्रचार-प्रसार र व्यवस्थापनमा कमजोर देखिएको छ। यदि यसको समुचित प्रवर्द्धन र संरचना विकास गरिएमा भक्तजनहरूका लागि राजधानीसम्म जानुपर्ने बाध्यता अन्त्य हुन सक्छ।