झापा । विर्तामोड नगरपालिकाले किसानद्वारा उत्पादित तरकारी बजारीकरणका लागि सञ्चालनमा ल्याएको सुपथ मूल्यका बिक्री केन्द्रहरू प्रभावकारी बनेका छन्।
नगरका विभिन्न वडामा सातवटा सुपथ मूल्यका बिक्री केन्द्र र विर्तामोडमा मुख्य संकलन केन्द्र सञ्चालन गर्दै आइएको नगर कार्यालयले जनाएको छ। किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी संकलन केन्द्रमा जम्मा भएर पसलमार्फत बिक्री हुने गरेको नगरपालिकाको कृषि शाखाका प्रमुख राजेन्द्रप्रसाद कडरियाले बताए।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७३ लाख २३ हजार ५४० रूपैयाँ मूल्यबराबरको २७६ मेट्रिकटन तरकारी संकलन भएको थियो।
नगरपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्य तोकेर उक्त मूल्य नपाएमा क्षतिपूर्तिबापत रकम भुक्तानी दिने गरेको छ। समर्थन मूल्यभन्दा कम मूल्यमा तरकारी बेचेका २४ जना किसानलाई पालिकाले क्षतिपूर्तिस्वरुप रकम भुक्तानी गरेको उनले बताए।
गत आवमा नगर क्षेत्रका तरकारी किसानलाई नगरपालिकाबाट समर्थन मूल्यबापत १२ लाख ८१ हजार ८८७ रूपैयाँ भुक्तानी प्रदान गरिएको नगरका उपप्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिए। उनका अनुसार नगरलाई अर्गानिक तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले विगत एकवर्ष अघि पालिकाले तरकारीको समर्थन मूल्य तोकेको हो।
पालिकामा सूचीकृत भएर व्यावसायिक तरकारीखेती गर्ने किसानको सङ्ख्या ११७ रहेको जनाउँदै उपप्रमुख सङ्ग्रौलाले संकलन केन्द्रबाट ६७ जना किसानले तरकारी बिक्री गर्दै आएका बताए। नगरले गत वर्षदेखि ‘पारिको होइन बारीको खाउँ’ भन्ने नारासहित अर्गानिक कृषि प्रवर्द्धनका लागि लगानी गर्दै आएको उनले जानकारी दिए।

















