झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैँचीको उत्पादकत्व वृद्धि र व्यवसाय प्रवद्र्धनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज नेपाल अलैँची व्यवसायी महासङ्घको विर्तामोडमा आयोजित पाँचाँै महाधिवेशनमा उहाँले अलैँचीको नर्सरीदेखि बजार प्रवद्र्धनसम्म सरकारबाट सहयोग हुने बताउनुभयो । उहाँले अलैँचीको उत्पादन र निकासी बढाउन नीतिगत रुपमा प्रदेश सरकारले निर्णय गरी स्रोतसाधान उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र उद्यमशीलताको विकासका लागि स्वीस सरकारसँगको सहयोगमा प्रदेश सरकारले ‘उदय’ परियोजना सुरु गरेको बताउँदै भन्नुभयो, “३० लाखदेखि तीन करोडसम्म साना तथा मझौला उद्योगमा लगानी गर्दैछौँ ।”
उहाँले अलैँची, चिया, बाँस दुग्ध पदार्थलगायतका क्षेत्रमा उत्पादन र बजार बढाएमा कोशी प्रदेश समृद्धि यात्रामा तीव्र गतिमा अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । उहाँले चियाको कार्यालय काठमाडौँबाट उत्पादन क्षेत्रमा आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष निर्मल भट्टराईले वार्षिक सातदेखि १० अर्बको अलैँची निर्यात भइरहेको जानकारी दिँदै भोजपुर र सङ्खुवासभालाई समेटेर अलैँची ‘सुपरजोन’ स्थापना गर्न सरकारसँग आग्रह गर्नुभयो ।
महाधिवेशनमा १६ जिल्लाका प्रतिनिधि सहभागी छन् । त्यस अवसरमा उत्कृष्ट निर्यातकर्ता, उत्कृष्ट किसान र कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।


















