इटहरी । जेन जी आन्दोलनपछि पहिलो दिन खुलेको शेयर बजार आज जम्मा ६ मिनेट कारोबार भएर बन्द भएको छ ।
प्रि ओपन सेसनबाहेक आज शेयर बजारमा ६ मिनेट मात्रै कारोबार भयो । बजार खुलेको २ मिनेट २२ सेकेण्डपछि ११ बजेर २ मिनेट जाँदा ४ प्रतिशतले झरेर बन्द भएको शेयर बजार पहिलो सर्किट बे्रक लागेर २० मिनेटका लागि बन्द भएको थियो ।
२० मिनेटपछि ११ बजेर २२ मिनेट २२ सेकेण्डमा खुलेको बजार ३८ सेकेण्डपछि थप १ प्रतिशतले घटेपछि ४० मिनेटका लागि ११ बजेर २३ मिनेटमा बन्द भएको थियो ।
४० मिनेटपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार ३ मिनेटपछि थप १ प्रतिशत झरेपछि १२ बजेर ६ मिनेटमा आजका लागि बन्द भएको हो । नेप्से परिसूचक १६० दशमलव ३३ अङ्क घटेर २५११ दशमलव ९१ बिन्दुमा अडिएको छ ।
१५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।


















