काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत १७५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।
बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी वि.सं २०८३ वैशाख ९ गते हुनेछ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख तथा ग वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमा सहभागिता जनाउन सक्नेछन् ।

















