इटहरी । नेपाल प्रहरीमा कार्यरत बिक्रम संवत २०६७ सालमा नियुक्ती भई जागिरको १५ औँ वर्ष पार गरेको खुशीयालीमा प्रहरी कर्मचारीहरूले इटहरी–२ स्थित माया घर नेपालमा आश्रितहरूलाई एक छाक मिठ्यान्न भोजन सहित न्यानो टोपी वितरण गरेका छन्। २०६७ मा नियुक्ति हुने सम्पूर्ण प्रहरी परिवारको ब्यानरसहित उनीहरूले माया घरमा आश्रित १४५ जनालाई एक छाक मिठो भोजन र न्यानो टोपी वितरण गरेका हुन्।
‘प्रहरी मेरो साथी’ अभियान त छँदैछ, त्यसमा पनि मानवता तथा समाजसेवालाई अग्रभागमा राखी माया घरमा आश्रितहरूलाई भोजन र सामग्री वितरण गरिएको कार्यक्रम अध्यक्ष दिपक परियारले बताए। उनले संस्था स्थापना संगै चुनौतीको सामना गर्दै यहाँसम्म ल्याउनु सजिलो कुरा नभएको उल्लेख गर्दै संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेललगायत सञ्चालक समितिको खुलेरै प्रशंसा गरेका थिए।
५० जनाभन्दा बढीको संख्यामा भेला भएका प्रहरी कर्मचारीले माया घरको वर्तमान अवस्था, भोग्नुपरेको चुनौती, भावी योजना बारे जानकारी लिनुका साथै भवन, शौचालयलगायत बसोबास कक्षहरूको अवलोकन पनि गरेका थिए। माया घरको प्रांगणमा भेला भएका प्रहरी कर्मचारीहरूले जागिरको १५ औँ वसन्त पार गरेको खुशीयालीमा आश्रितहरूसँग रमाइलो नाचगान पनि गरेका थिए। यसै खुशीयालीमा उनीहरूले इटहरीको एक होटलमा केक समेत काटेर शुभकामना आदान–प्रदान पनि गरेका थिए।
कार्यक्रमकी प्रमुख अतिथि माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेलले संस्था यहाँसम्म आइपुग्न नेपाल प्रहरीले ठूलो योगदान र सहयोग गरेको उल्लेख गरिन्। उनले सडकमा अलपत्र अवस्थामा परेका असक्तहरूलाई प्रहरीले आफ्नै भ्यानमा हालेर माया घरसम्म ल्याइदिने गरेको पनि बताइन्। साह्रो गाह्रो परेको बेला प्रहरीको उपस्थिती र प्राप्त सेवाप्रति सदैव आभार रहेको पनि उल्लेख गरिन्।

















