इटहरी ।  साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार मापक नेप्से परिसूचक ०.४१ प्रतिशत अर्थात ११.३७ अङ्कले घटेर २७५५.४१ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता शेयर ५५ हजार ४६७ पटक किनबेच हुँदा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये चारवटामा मात्रै हरियाली छाएको थियो । फाइनान्स समूह सर्वाधिक २.७७ प्रतिशतले बढ्दा होटल ०.०५ प्रतिशत, सामुहिक लगानी कोष ०.२७ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले बढेका थिए ।
उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.७८ प्रतिशतले घटेको थियो ।

घटेको बजारमा आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ५५ करोड ६९ लाख ६ हजार ४२७ रुपैयाँको शेयर किनबेच भएको छ । सिटी होटल, सेन्ट्रल फाइनान्स, रिडी पावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

हालै दोस्रो बजारमा आईपीओ सूचीकृत भएको कालिञ्चोक हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशतले बढ्दा उपकार लघुवित्तको शेयमूल्य ९.७१ प्रतिशत, बेष्ट फाइनान्सको ७.५५ र सिटी होटल्सको शेयरमूल्य ७.०६ प्रतिशतले बढ्यो ।

होटल फरेष्ट इनको शेयरमूल्य सर्वाधिक अर्थात ४.२२ प्रतिशतले घट्दा माबिलुङ इनर्जी, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोपावर उच्च मूल्य घट्ने अन्य कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब १ अर्ब २८ करोड २० लाख ७८ हजार ४९८ रुपैयाँ कायम भएको छ ।