काठमाडौंः एक महिनामा तीन अर्ब रुपैयाँभन्दा बढीको अड लट शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अडलट अर्डर देखिने बनाएपछि हरेक महिना कारोबार बढ्न थालेको छ ।

नेप्सेले सार्वजनिक गरेको कात्तिक महिनाको मासिक विवरण अनुसार सो महिनामा २ करोड ८५ लाख ६७ हजार कित्ता शेयर बिक्री हुँदा ३ अर्ब ५५ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । असोजमा ९ लाख ३५ हजार कित्ता शेयर बिक्री हुँदा २८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको थियो ।

भदौमा २ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा १८ करोड रुपैयाँको कारोबार भएको थियो ।

साउन महिनामा २१ लाख १ हजार २९३ कित्ता शेयर किनबेच हुँदा ७१ करोड ४४ लाख ५० हजार रुपैयाँको शेयर किनबेच भएको थियो ।

साउन अघि अडलटको खरिदबिक्री आदेश राख्न मात्रै सकिने तर त्यसलाई अरू लगानीकर्ताले देख्न सक्दैन थिए । नेप्सेले अहिले ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस)मा राखेको खरिदबिक्री आदेश आफ्नो वेबसाइटको मार्केट डेप्थमा एक मिनेटपछि देखाउने व्यवस्था गरेको छ । जसका कारण अडलट शेयरको कारोबार बढेको छ ।

अड लट शेयर भनेको १० कित्ताभन्दा कम शेयर हो ।