इटहरी ।  सर्वसाधारणका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि ९ लाख २४ हजार ७६८ कित्ता शेयर आजदेखि बिक्री शुरु भएको छ ।


रिलायन्सको प्रतिशेयर अङ्कित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङमार्फत् शेयर निस्कासन गरेको हुनाले सो कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा कायम भएकाले सोही दरले आवेदन दिनुपर्नेछ ।


बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा १३ को उपदफा १ बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सो मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।


लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।


लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।


इटहरी–१२ खनारमा मुख्य उद्योग र दुहबीमा शाखा उद्योग रहेको रिलायन्स स्पिनिङ मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ । रिलायन्सले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायतलगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्याण हुन् र प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन् ।