इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारको नयाँ खाताको व्यवस्था गरिएको छ।निर्वाचन आयोगले गत शुक्रबार राष्ट्र बैंकलाई पत्राचार गरेसँगै केन्द्रीय बैंकले सोमबार सर्कुलर जारी गरेको हो। योसँगै बैंक तथा वित्तहरूलाई उम्मेदवारको छुट्टै खाता खोल्ने बाटो खुलेको छ।

राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा प्रदेश निर्वाचन कार्यलय वा जिल्ला निर्वाचन कार्यलयको सिफारिसमा आम निर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार र स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न भनिएको छ।

निर्वाचनलाई नै लिएर राष्ट्र बैंकले उम्मेदवारलाई आफ्नो खाता भएकै बैंकमा समेत अर्को खाता खोल्न पाउने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।यस्तो खाता निर्वाचन आयोगबाट बन्द गर्ने निर्णय नहुन्जेलसम्म सञ्चालनमा रहनेछ।