इटहरी । खाना पकाउने एलपिजी ग्यास लिन लाइनमा उभिँदा उभिँदै एक वृद्धको ढलेर मृत्यु भएको छ।

घटना भारत उत्तर प्रदेशस्थित फर्रूखावादको हो।

बिबिसी हिन्दीका अनुसार फर्रूखावादको मनिहारी मोहल्लामा बस्दै आएका ७५ वर्षीय मुख्तार अन्सारी शुक्रबार बिहान एलपिजी सिलिण्डर लिन लाल सरायको ग्यास डिपोमा पुगेका थिए।

ग्यास डिपोमा बिहानैदेखि मानिसहरूको लाइन थियो। घन्टौंसम्म लाइन बस्नुपर्दा उनी त्यहीँ ढलेको प्रत्यक्षदर्शीलाई उद्धृत गरेर बिबिसी हिन्दीले लेखेको छ।

भुइँमा ढल्नासाथ मुख्तारलाई त्यहाँ उपस्थित अन्य मानिसहरूले सिपिआर दिएका थिए। उनी होसमा नआएपछि मानिसहरूले तत्कालै नजिककै नर्सिङ होममा पुर्‍याएका थिए।

त्यहाँ पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरिदिएको थियो।  

परिवारका सदस्यका अनुसार वृद्ध केही समयदेखि बिरामी पनि थिए। हालै उनको उपचारसमेत भइरहेको थियो।  

मृतकका भतिजा मोहम्मद वसीले काका घन्टौं लाइनमा उभिनुपर्दा स्वास्थ्य अवस्था बिग्रिएर ढलेको बताएका छन्।

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले सरकारको आलोचना गरेका छन्।