विराटनगर, चैत १३ – उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा पहिलो पटक ‘कोशी घर निर्माण प्रदर्शनी २०८२’ भव्य रूपमा सुरु भएको छ। चैत १२ गतेदेखि जैन भवनमा सुरु भएको प्रदर्शनी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।

घर निर्माणसँग सम्बन्धित सम्पूर्ण सेवा र सामग्रीलाई एउटै छानामुनि ल्याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीले सर्वसाधारणदेखि प्राविधिक क्षेत्रका व्यक्तिसम्मलाई लक्षित गरेको छ। आयोजकका अनुसार प्रदर्शनीले घर निर्माण, मर्मत, डिजाइन तथा आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी दिनेछ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले यो प्रदर्शनी “घर हुने र नहुने सबैका लागि उपयोगी” भएको उल्लेख गर्दै उद्योगी र उपभोक्ताबीच सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे। उनले सहभागी उद्योगीहरूको उत्साहजनक सहभागिताले प्रदर्शनीलाई अझ आकर्षक बनाएको बताए।IMG_20260327_112116

प्रदर्शनीमा नवीन निर्माण प्रविधि, स्मार्ट डिजाइन, सौर्य प्रणाली, होम अटोमेसन, विद्युत तथा अग्नि सुरक्षा, भूकम्प प्रतिरोधी संरचना, वाटरप्रूफिङ तथा पुराना घरहरूको सुदृढीकरणजस्ता विषयमा विशेषज्ञद्वारा ‘थिमेटिक सेसन’ सञ्चालन भइरहेका छन्।

विद्यार्थी तथा प्राविधिक जनशक्तिलाई लक्षित गर्दै विभिन्न इन्जिनियरिङ कलेजहरूसँग समन्वय गरिएको आयोजकले जनाएको छ। यसले सहभागीलाई ज्ञान र सीप विकासको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा ७५ भन्दा बढी स्टलहरू राखिएका छन्, जहाँ अवलोकनकर्ताले निर्माण सामग्रीको गुणस्तर, मूल्य तथा सेवा सम्बन्धी जानकारी लिएर सम्बन्धित कम्पनीसँग सिधै अर्डर गर्न सक्नेछन्। आयोजकका अनुसार प्रदर्शनी ‘बीटुबी’ र ‘बीटुसी’ दुवै प्लेटफर्मका रूपमा सञ्चालन भइरहेको छ।

प्रदर्शनीको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिबन काटेर गरेका हुन्। उद्घाटन समारोहमा उनले यस्ता प्रदर्शनीले सुरक्षित, व्यवस्थित र आधुनिक घर निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै उत्पादनमूलक मेलाहरूको आवश्यकता औंल्याए।

कार्यक्रममा संगठनका उपाध्यक्ष तथा प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छाले स्वदेशी निर्माण सामग्रीको प्रवर्द्धन र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको बताए।

उद्योगी व्यवसायीहरूले पनि यस्ता प्रदर्शनीले निर्माण क्षेत्रलाई चलायमान बनाउनुका साथै आयातमा निर्भरता घटाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका छन्।

आयोजकका अनुसार पहिलो संस्करणमै दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छ र आगामी दिनमा अन्य क्षेत्रगत प्रदर्शनीहरू समेत आयोजना गर्ने योजना रहेको छ।