इटहरी । मोरङको सुन्दरहरैंचामा सञ्चालनमा रहेको पीएलओ (पूर्वाञ्चल ल्युब आयल) सहित विभिन्न पाँच कम्पनीले बुक बिल्डिङ प्रविधिमार्फत् आईपीओ जारी गर्ने भएका छन् ।
आईपीओ जारी गर्न ती कम्पनी र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच बुक बिल्डिङ्ग निर्देशिका बमोजिम शेयर निष्कासनका लागि सम्झौता भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड बुक बिल्डिङमा सहभागी हुने भएका हुन् ।
ती कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत् योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गर्न नेप्सेसँग सहकार्य गरेका हुन् ।
यस प्रक्रियाअनुसार ठूला संस्थागत लगानीकर्ताहरूले पहिले शेयरको मूल्य प्रस्ताव गर्नेछन्, र सोही आधारमा शेयरको अन्तिम मूल्य निर्धारण गरी सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ ।
नेपालमा हालसम्म रिलायन्स स्पिनिङ मिल्सले मात्रै बुक बिल्डिङमार्फत् आईपीओ जारी गरेको छ ।

















