इटहरी ।  नेपाल धितोपत्र बोर्डले नियमित कारोबार समयपछि पनि शेयर खरिद बिक्री आदेश दिन सकिने व्यवस्था गर्ने भएको छ । 
कारोबार समय सकिएपछि साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म अर्डर राख्न मिल्ने बनाउन लागिएको हो । योसँगै धितोपत्र बजारको नियमित कारोबार समयभन्दा अघिपछि पनि खरिद बिक्री आदेश गर्न पाइने व्यवस्था हुने भएको हो । यसले विदेशमा रहेका नेपाली र कार्यालय समयमा शेयर कारोबार गर्न नपाउनेलाई सहज हुनेगरी यस्तो व्यवस्था गर्न लागिएको हो ।
कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नपाएको गुनासो सुनवाई गर्न नियमित कारोबार समय पछि पनि अर्डर गर्न सकिने व्यवस्था गर्न लागिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । 
धितोपत्रको दोस्रो बजारमा पर्याप्त तरलता कायम गर्न तथा कारोबारको आकार समेत बढाउन यसले मद्दत गर्ने बताइएको छ । नेप्सेको नियमित कारोबार सकिएपछि खरिद तथा बिक्री आदेश दिनेले सोही दिनको अन्तिम मूल्यका आधारमा तोकिए अनुसार मूल्य घटाइ वा बढाइ खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था प्रस्ताव गर्दै धितोपत्र बोर्डमा पठाएको जनाइएको छ । नेप्सेको नियमित कारोबार सकिएपछि साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको आदेश प्रविष्टको समय दिने व्यवस्था गर्न प्रस्ताव गरिएको बताइएको छ ।