इटहरी । साताको अन्तिम कारोबार दिन हिजो नेपाली शेयरबजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात् १.५४ अंकले बढेर २ हजार ७८८.७० विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५१ कम्पनीको७५ हजार २२९ पटकको कारोबारमा १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ रुपैयाँको शेयर किनबेच भएको छ ।
शुक्रबार कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाउँदा ७ वटा राताम्य भएका थिए । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् ०.६६ प्रतिशतले बढ्दा बैंकिङ समूह ०.२२, विकास बैंक ०.२२, होटल ०.३२, हाईड्रो ०.२५ र व्यापार समूह ०.५८ प्रतिशतले बढेका थिए ।
अन्य समूह सर्वाधिक १.०२ प्रतिशतले घट्दा फाइनान्स समूह ०.६२ प्रतिशत, लगानी ०.०२, जीवन बीमा ०.२६, लघुवित्त ०.३५, सामुहिक लगानी कोष ०.०१ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले ओरालो लागे ।
रिडी पावर कम्पनीको सर्वाधिक अर्थात २७ करोड ३८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच हुँदा रिलायन्स स्पीनिङ मिल्स, नेशनल हाईड्रोपावर, सोलु हाईड्रोपावर र आँखुखोला जलविद्युत उच्च कारोबार गर्ने कम्पनीमा परे ।
पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र माईखोला हाईड्रोपावरको शेयरमूल्य १५ प्रतिशत बढेको बजारमा मेन्छ्यायाम हाईड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ३.५० प्रतिशतले घटेको थियो ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ५६ अर्ब २७ करोड २१ लाख १३ हजार ४८९ रुपैयाँ कायम भएको छ ।


















