इटहरी । बजार खुल्नासाथ हरियो देखिए पनि त्यसपछि ओरालो लागेको शेयर बजार आज दिनभर राताम्य देखियो । बजार बन्द हुँदा नेप्से परिसूचक ०.९३ प्रतिशत अर्थात् २६.१६ अंकले घटेर २ हजार ७७०.२६ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ४० लाख १८ हजार ९२० कित्ता शेयर १ लाख ५१ हजार ३५४ पटक किनबेच हुँदा ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ रुपैयाँको शेयर किनबेच भएको छ ।
अन्य समूह आज ०.७३ प्रतिशतले बढ्नुबाहेक कुनै पनि समूहमा हरियाली छाएन । होटल समूह आज सर्वाधिक अर्थात २.५६ प्रतिशतले घट्दा बैंकिङ समूह ०.८४ प्रतिशत र विकास बैंक १.२२ प्रतिशतले घटेका छन् । विकास बैंक र वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा राम्रो नाफा गरेको रिपोर्ट सार्वजनिक भए पनि शेयरमूल्यमा त्यसले फरक पारेन ।
आज पाल्पा सिमेन्टको सर्वाधिक अर्थात ५८ करोड ३३ लाख ४० हजार ७१६ रुपैयाँको शेयर किनबेच हुँदा रिलायन्स स्पीनिङ मिल्सको ३४ करोड ६८ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको ३० करोड २८ लाख, सोलु हाईड्रोको २८ करोड १२ लाख र कुमारी बैंकको २२ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
हिमालयन बैंक बोण्ड २०८६ आज सर्वाधिक अर्थात ६ प्रतिशतले बढ्यो । साइन रेसुङ्गा डिबेञ्चर पनि आज ३.४० प्रतिशत तथा आरबीबी म्युचुअल फण्ड ३.०२ प्रतिशतले बढेको छ ।
घटेको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १५ प्रतिशतले घट्दा रिज लाइन इनर्जीको शेयरमूल्य १०.२७ प्रतिशत र सूर्यकुण्ड हाईड्रोको शेयरमूल्य ९.९४ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब २४ अर्ब ८२ करोड ७८ लाख ३८ हजार ५४४ रुपैयाँ कायम भएको छ ।


















