इटहरी । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आजदेखि आईपीओ बिक्री गर्ने भएको छ ।
कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । प्रभावित क्षेत्रभित्र पनि अति प्रभावित र अन्य प्रभावित क्षेत्रका बासिन्दाबीच छुट्टै अनुपातमा सेयर बाँडफाँट गरिने व्यवस्था गरिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको कोटाभित्रबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको छ । श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले सी–आस्वा प्रणाली तथा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत् आवेदन दिन सक्नेछन् ।
स्थानीयवासीले आस्बाका साथै माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्ने आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासित आईपीओ बन्द छिटोमा बैशाख ३१ गते र ढिलोमा जेठ १८ गते हुनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन बन्द छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गते हुनेछ ।


















