इटहरी ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरू (क्युआईआई)लाई दर्ता तथा वार्षिक नवीकरणका लागि आह्वान गरेको छ ।

नेप्सेले सूचना जारी गर्दै बुक बिल्डिङ विधिमार्फत् निष्काशन हुने धितोपत्रमा सहभागी हुनका लागि क्युआईआइले यथाशीघ्र दर्ता तथा नवीकरण गर्नुपर्ने जनाएको हो । योग्य संस्थागत लगानीकर्तालाई नयाँ दर्ताका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ भने वार्षिक नवीकरणका लागि पाँच हजार रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताहरूले दर्ता तथा नवीकरण शुल्क ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी शाखामा रहेको नेप्से अपरेटिङ एकाउन्टमा जम्मा गर्नुपर्ने जनाइएको छ । नेप्सेको खाता नम्बर ०७५०१०१००००७७५ मा रकम जम्मा गरी सोको बैंक भौचर नेप्सेको इमेलमा पठाउनुपर्ने सूचनामा उल्लेख छ ।

बुक बिल्डिङ विधिमा सहभागी हुनका लागि योग्य संस्थागत लगानीकर्ताको रूपमा नेप्सेमा दर्ता हुनु पर्छ । दर्ता तथा नवीकरण नगर्ने संस्थाहरू बुक बिल्डिङ विधिबाट हुने धितोपत्रको बोलकबोल प्रक्रियामा सहभागी हुन पाउँदैनन् ।

नेप्सेमा ७ वटा कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निस्कासनको लागि निवेदन दिएका छन् । नेप्सेले ती कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ निस्कासन प्रक्रियामा सहभागी गराउने भएको छ ।