इटहरी । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४४ प्रतिशत अर्थात् १२.३६ अंकले घटेर २७४२.११ बिन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर ४४ हजार ७४४ पटक किनबेच हुँदा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
सामुहिक लगानी कोष समूह ०.१४ प्रतिशतले बढ्दा व्यापार समूह स्थिर रह्यो । होटल समूह सर्वाधिक अर्थात् ०.८६ प्रतिशतले घटेको छ ।
कारोबारमा आएकामध्ये आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात १७ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच हुँदा रिडी पावर, बुङ्गल हाईड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर र फस्र्ट माइक्रोफाइनान्स उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
आज बुङ्गल हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ९.२६ प्रतिशतले बढ्दा अपर लोहरे खोलाको शेयरमूल्य सर्वाधिक अर्थात १४.९५ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ७६ अर्ब ८१ करोड ४३ लाख २० हजार १५१ रुपैयाँ कायम भएको छ ।


















