इटहरी ।  अब भारतका बैंकबाट नेपाल र नेपालबाट भारतमा रकम पठाउन सकिने भएको छ । नेपाल र भारतबीच एक अर्काको देशमा पैसा पठाउन र प्राप्त (डाइरेक्ट ट्रान्सफर) गर्न सकिने सेवा शुरू भएको छ ।

भारत भ्रमणमा रहेका बेला पराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा यस्तो सेवाको शुरु गर्ने सम्झौता भएको हो ।

भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस र नेपालको नेसनल पेमेन्ट इन्टरफेसको प्रणालीबीचको अन्तर आबद्धतामार्फत् दुवै देशबीच पैसा पठाउन सकिने भएको हो ।

तत्कालका लागि यो सुविधा नेपालमा काम गरिरहेका वा अस्थायी बसोबास गरिरहेका भारतीयहरूले पाउने भएका छन् । नेपालबाट भारतीयहरूले प्रतिपटक १५ हजार भारतीय रुपैयाँ र प्रतिमहिना २ लाख भारूसम्म पठाउन सकिने व्यवस्था मिलाइएको हो ।

भारतमा रोजगारीमा रहेका नेपाली वा त्यहीँका बासिन्दाले प्रतिपटक दुई लाख भारूसम्म पठाउन सक्ने भएका छन् । भारतबाट नेपाल रकम पठाउने दैनिक वा मासिक सीमा तोकिएको छैन ।

बैंकको खाताबाट बैंकको खातामा रकम पठाउन सकिने गरी नेपालका करिब आधा दर्जन बैंकहरूमार्फत् यो सेवाको प्रयोग गर्न सकिने भएको छ ।

नेपाल भ्रमणमा आउने भारतीयहरूले यसअघिदेखि नै यस्तो सुविधा पाइरहे पनि नेपालबाट भारत जानेहरूले यस्तो सुविधा पाएका थिएनन् ।