विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघले युवालाई स्वरोजगार तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित “युवाबाट उद्यमी बन्ने यात्रा” नारासहित १५ दिने युवा उद्यमशीलता विकास तालिम कार्यक्रम सञ्चालन गरेको छ ।

जेठ २५ गतेदेखि शुरु भएको तालिम असार ८ गतेसम्म सञ्चालन हुने भएको छ । सो तालिममा उद्यमशीलता, नवप्रवर्तन, डिजिटल मार्केटिङ, कर तथा लेखा, उद्योग अवलोकन, पर्यटन प्रवद्र्धन, शेयर बजार शिक्षा लगायतका विषय समेटिएका छन् । तालिममा सहभागी युवालाई व्यवसाय शुरु गर्न आवश्यक आधारभूत ज्ञान, अनुभव र प्रेरणा प्रदान गरिने आयोजकले जनाएको छ ।

तालिमको दोस्रो दिन मंगलबार “सार्थक जीवनः उद्यमशील यात्रा” विषयमा ओम शान्तिका हरि सिटौलाले सहजीकरण गरिसक्नुभएको छ । बुधबार र बिहीबार “ नवप्रवर्तन तथा स्टार्ट–अप आइडिया एक्सचेन्ज” अन्तर्गत नवीन व्यावसायिक सोच तथा उद्यमका अवधारणाबारे छलफल भएको छ । उक्त सत्रमा वृद्धि डटकमका निरज खनाल र दिलिप गुरुङले सहजीकरण गर्नुभएको थियो ।

आज शुक्रबार उद्योग दर्ता प्रक्रिया, लेखा व्यवस्थापन तथा कर प्रणालीबारे घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि र चार्टर्ड एकाउन्टेन्ट कुलदीप पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

भोलि शनिबार युवालाई सफल उद्यमीको अनुभवसँग जोड्न “सक्सेसफुल जर्नी” कार्यक्रम पनि राखिएको छ । जसमा सफल उद्यमी सुयश प्याकुरेलले आफ्नो अनुभव सुनाउनुहुने भएको छ ।

आइतबार जिल्लाका उद्योगहरूको स्थलगत अवलोकन भ्रमण गराइने भएको छ ।

सोमबार डिजिटल मार्केटिङ र एआई विषयक तालिमको सहजीकरण पूर्वाञ्चल विश्वविद्यालयले गर्ने भएको छ ।

असार २ गते मंगलबार नवप्रवर्तन तथा ‘स्टार्टअप आइडिया एक्सचेन्ज’ कार्यक्रमअन्तर्गत चुडामणि भट्टराई (सीआईएम) ले सहजीकरण गर्नुहुने भएको छ ।

असार ३ गते नेपालमा उद्यम व्यवसायको सम्भावनाः चुनौती र अवसर विषयमा युवा उद्यमीका अनुभव सुनाइने भएको छ । जसअन्तर्गत आकाश दुलाल, रोमन कट्टेल र सुदीप घिमिरेले आफ्ना अनुभव सुनाउनुहुने भएको छ ।

असार ४ गते स्थानीय उद्योग अवलोकन भ्रमणअन्तर्गत पूर्वाञ्चल ल्युब आयल, कञ्चनजङ्घा इण्डस्ट्रिज, नेपालीरिका होटल, गार्मेण्ट उद्योग र चामुण्डा उद्योगको अवलोकन गराइने भएको छ ।

असार ५ गते पर्यटन प्रवद्र्धन तथा “रिफ्रेस एन्ड तालिम अनुभव साटासाट” कार्यक्रम धनकुटाको भेडेटार र राजारानीमा हुने भएको छ ।

तालिमको अन्तिम चरणमा असार ६ र ७ गते शेयर बजार लगानी शिक्षा सम्बन्धी प्रशिक्षण सञ्चालन गरिने भएको छ । जसमा शेयर लगानीकर्ता सुभाषचन्द्र भट्टराईले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको समापन असार ८ गते हुने संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।