इटहरी । यो साता नेप्से परिसूचक १.१४ प्रतिशत अर्थात् ३१.३८ अंक घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ । पाँच दिन बजार खुल्दा एक दिनमात्रै नेप्से सामान्य बढेको थियो ।

सातामा कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औसतमा ५ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा ४ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । नेप्सेको कुल बजार पूँजीकरण पनि १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेमा सूचीकृत सबै १३ वटै उपसमूहको परिसूचक घटेको यो साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा कम ०.०८ अंक घटेको छ ।

सातामा कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ४०.७१ प्रतिशत बढेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे १३ प्रतिशत बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी बढेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक ९.६३ प्रतिशत घटेको छ ।

यो साता एपोलो हाइड्रोपावरको ४७ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।